इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

काठमाडौं , असोज २४ ।  इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

आज बुधवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले पहिले इजरायलले नेपाललाई शव हस्तान्तरण गरेपछि मात्रै त्यहाँबाट शव नेपाल ल्याउन सरकारले काम थाल्ने जानकारी दिनुभयो ।

यस्तै बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै थाहा नभएको र खोजी भइरहेकाे उहाँको भनाइ छ । घाइते चार जनामध्ये एक जना आज डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ ।

युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका एक सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । मन्त्रालय र इजरायलमा रहेको नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीको रजिस्ट्रेशन खुला गरेकोमा अहिलेसम्म तीन सय ८८ जनाले नाम टिपाएका उहाँले बताउनुभयो । नेपाल आउन नाम टिपाएकालाई लिन नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज इजरायल जाने र जहाजले दुई सय ५० जनालाई ल्याउने उहाँले बताउनुभयो ।

नेपाल आउन चाहनेहरूको सङ्ख्याका आधारमा सरकारले अर्को उडान गर्ने प्रवक्ता सेवा लम्सालको भनाइ छ ।

३५० नेपाली दूतावासको सम्पर्कमा, २८८ स्वदेश फर्कन इच्छुक

द्वन्द्वग्रस्त इजरायलमा रहेका ३५० जना नेपाली त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्।बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले सो जानकारी दिएकी हुन्।

‘इजरायलमा रहेका मध्ये ३५० जनाले अनलाइन फारम भर्नुभएको छ’ त्यसमध्ये २८८ जना स्वदेश फर्कन इच्छुक हुनुहुन्छ’ लम्सालले भनिन्, ‘उहाँहरुलाई लिन आजै राति २५० जना क्षमताको वाइडबडी जहाज त्यसतर्फ जाँदैछ।’

उनले प्राथमिकताका आधारमा विद्यार्थीलाई पहिला ल्याउने र बाँकी नियमित उडानमार्फत फर्कन चाहनेलाई दूतावासले सहयोग गर्ने बताइन्।

उनले कामको लागि इजरायल पुगेका नेपालीहरुबारे भने उपयुक्त समयमा सरकारले निर्णय गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्