बालिकाहरूको संरक्षणमा थप लगानी बढाउन आवश्यक छ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधवार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेको बताए ।

उनले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानुनी व्यवस्था भएपनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू पनि अझै देखिने गरेको बताए ।

उनले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरू नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

उनले भने ‘बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेका छन् । हाम्रो समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन छ । कानुनी व्यवस्था भएपनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू सुन्नमा आउँछन् । बाल विवाहमा पनि बालिकाहरूको सङ्ख्या बढी नै भएका तथ्याङ्कहरू छन् । बालश्रममा पनि बालिकाहरू छन् । हराउने, बेचबिखन तथा ओसारपसारमा पर्ने पनि बालिकाहरू नै बढी देखिएकाले यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि समेतका लागि राज्यले लगानीको निरन्तरता र थप आवश्यक लगानी बढाउन मन्त्रालयका तर्फबाटथप सहयोग र सहजीकरण गरिनेछ । बालिकाहरूको अधिकार संरक्षण तथा संवर्द्धन र सर्वोत्तम हितका लागि बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लगायतका सन्धि सम्झौता र दस्ताबेज नेपालको संविधान, बालबालिका सम्बन्धित ऐन तथा नीति नियमहरू आवधिक र वार्षिक योजनाका कार्यक्रमहरू कार्यान्वयन गर्न तीन तहकै सरकारी निकाय, विकास साझेदार र गैरसरकारी संस्थाहरूलाई आह्वान गर्दै मन्त्रालय यस कार्यमा लागिरहेको छ ।’

बालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ मनाइएको छ । बालिकाहरूको अधिकार संरक्षण र संवर्द्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्