कोशीमा फेरि उद्धव थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय
काठमाडौं, असोज २३ । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ।
आज बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो।
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन्। बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको जानकारी दिए।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउन सकेनन्। अब फेरि उनैलाई अघि सार्ने निर्णय कांग्रेसले गरेको हो। बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ।
बैठकले इजरायलमा भएको आक्रमण र नेपालीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ भने मंगलबारै बस्ने संसदीय दलको बैठकमा इजरायलमा भएको हमास आक्रमण र त्यहाँ मृत्यु भएका युवाप्रति शोक व्यक्त गर्ने र सोहीबारेमा सरकारलाई सुझाव दिने विषयमा मात्रै केन्द्रित हुने जनाइएको छ।
प्रदेश सभाको पहिलो दलको हिसाबले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आह्वान गरेका छन्। त्यसका लागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ।
कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धन गठबन्धनकै नेतृत्वमा सरकार गठनको वातावरण बनाउन पहल लिने निर्णय गरेको हो।
कोशी प्रदेश सभा हाल ९३ सदस्यीय छ। त्यसमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सरकार गठनका लागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग छ। कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन्।
तर विश्वासको मत प्राप्त गर्ने बेला फेरि संकट पर्ने भएपछि गठबन्धनले यसपटक राप्रपाको साथ खोजेको छ। प्रदेश सभामा राप्रपाका ६ सांसद छन्। राप्रपाले गठबन्धनलाई साथ दिए प्रदेशमा गठबन्धनलाई सरकार गठनको सहज हुनेछ। प्रदेश सभामा एमालेका भने ४० सांसद छन्।
प्रतिक्रिया दिनुहोस्