तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं, असोज २३ ।  परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउदै उनले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

“अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ”, उनले भने , “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।”

बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्