एमालेले भन्यो– इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग सिधा छलफल गर्नुपर्‍यो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरूलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरूको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

उनले सो आक्रमणमा परी घाइते भएका नेपालीहरूको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरूको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो ।

उनले भने ‘हिजो मात्रै दक्षिणी इजरायलमा हमासको जुन आक्रमण भयो । त्यो आक्रमणपछि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको कुरा विभिन्न सञ्चार माध्यामहरुमा आएको छ । र, त्यसमा हाम्रा नेपाली दाजभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराई रहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरूमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफनो जीवन उद्धार गर्नका लागि अपिल गरेका विभिन्न कुराहरू बाहिर आएका छन् । यतिबेला म सरकारलाई आग्रह गर्न चाहन्छु–नेपाली दाजुभाइ दिदीबहिनीहरू आज विदेशमा विभिन्न काम र उद्देश्यले त्यहाँ हुनुहुन्छ । आज त्यहाँ यति ठूलो विपत्ति आइपरेको छ । वास्तवमा भन्ने हो भने एक मिनट पनि उद्धारका निम्ति, उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाइ गर्न सक्ने अवस्था छैन । यो देशमा सरकार छ । मुलुकमा राज्य छ । ती नागरिकहरूको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढङ्गले आफ्ना कदमहरूलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय । सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्यो । हाम्रा नागरिकहरूको छिटो भन्दा छिटो जीवन रक्षा हुनु प¥यो । उनीहरूलाई उद्धार गर्नु पर्यो । उनीहरुको उपचारको काम तुरुन्त हुनु प¥यो । यहाँका प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग सिधासिधा छलफल गर्नुपर्छ भन्ने म ठान्छु । त्यतिमात्रै होइन सभामुख महोदय । अहिले यूएन महासभाका बैठकहरू चलिराखेका छन् । अहिले हाम्रा प्रतिनिधिहरूले अहिले नेपालीहरूले त्यहाँ भोगेका पीडाबारे विषयहरू उठाउनु पर्यो । युएनको ध्यानाकर्षण गराउनु पर्यो । र, हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरूको जीवन रक्षाका लागि लाग्नुपर्यो । ’

प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाइते भएकाहरूलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्