इजरायल-हमास लडाइँमा साढे चार सयको मृत्यु

काठमाडौं, असोज २१ । इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्ममा दुवै पक्षका गरी यो संख्यामा मृत्यु भएको हो।

इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

इजरायलका विभिन्न सहरमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ। विभिन्न सहरबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडियोहरू सार्वजनिक भएका छन्। इजरायली अधिकारीहरूले ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्‍याएको बताएका छन्।

हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन्। उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन्। ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्नेछौं,’ उनले भनेका छन्।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न सहरमा आक्रमण गरेका थिए। इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो। यसलाई इजरायलमाथि ५० वर्षयताकै ठूलो आक्रमण रहेको बताइएको छ। तर यसलाई निस्तेज पारेरै छाड्ने प्रधानमन्त्री नेतन्याहुले बताएका छन्।

हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो। उक्त लडाइँ १० दिनसम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्