बझाङ पुगेर प्रधानमन्त्रीले गरे भूकम्पपीडितलाई ५० हजार दिने घोषणा

काठमाडौं, असोज १९ ।  बझाङ भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थायी आवासका लागि रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘भूकम्पबाट पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्छौं,’ उनले भने, ‘सामान्य मर्मत, प्रवलीकरण वा पुनर्निर्माण के गर्न पर्ने हो निश्चित गरी काम अघि बढाउँछौं ।’ प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहालको भनाइ छ । त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिएको उनले बताए ।

भूकम्पमा परी घाइते भएकाहरूलाई सरकारले नि:शुल्क उपचार गर्ने उनको भनाइ छ । उनले भने, ‘भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रति परिवार तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराइनेछ ।’

गत मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्पका कारण एक जनाको मृत्यु भएको थियो । हजारभन्दा बढी घरमा क्षति पुगेको अनुमान गरिएको छ ।

प्रधानमन्त्री दाहालले भूकम्पबाट के-कति क्षति पुगेको छ छिट्टै यकिन गरिनेसमेत आश्वासन दिए । प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतको टोली लिएर शुक्रबार बझाङ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्