चीनमा जारी एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, महिला कबड्डीमा कास्य
काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१(१७ अंकले पराजित गरेको हो ।
नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै भारत समूह ‘ए’ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेईसित प्रतिस्पर्धा गर्दै छ ।
यसअघि नेपालले पहिलो खेलमा सोमबार बंगादेशलाई ३७-२४ अंकले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगललबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो।
नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन्। टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट हुन् ।











प्रतिक्रिया दिनुहोस्