झरीको प्रवाह नगरी न्याय खोज्दै स्थानीय तहका कर्मचारी

काठमाडौं, असोज १७ । केही दिन पहिले माइतीघरदेखि बानेश्वरसम्मको सडक शिक्षकहरूले तताएका थिए। प्रस्तावित शिक्षा विधेयकले आफूहरूका अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरू आन्दोलित बनेका थिए।

यतिबेला सोही प्रकृतिको आन्दोलन स्थानीय तहका कर्मचारीले गरिरहेका छन्। ऐनविहीन अवस्थामा रहेका स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुने गरी एकीकृत संघीय निजामती ऐन ल्याउनुपर्ने उनीहरूको माग छ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीले बुधबार वृहत् प्रदर्शन गरेका छन्। दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर झरीको प्रवाह नगरी उनीहरू र्‍यालीसहित नयाँबानेश्वरसम्म पुगेका छन्।

प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आएका हुन्। बिहीबार पनि प्रदर्शन गर्ने र सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने चेतावनी उनीहरूको छ।

उनीहरूले मंगलबार कार्यालयमै कालोपट्टी बाँधेर काम गरेका थिए। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको उनीहरूको गुनासो छ। त्यसको विरोधमा उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्