कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो : केपी ओली
काठमाडौं, असोज १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग लिन आएका ओलीले विराटनगर विमानस्थलमा कांग्रेसबारे यस्तो टिप्पणी गरेका हुन् ।
“कांग्रेसको हविगत बोल्नै नसक्ने अवस्थामा पुगेको छ । उ विचरा भएको छ । अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन्,” ओलीले भने, “देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन ।”
देशका समसामयिक समस्याबारे कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लागेको ओलीले सुनाए ।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला समयमा भएका भ्रमणहरु अर्थहीन भएको भन्दै मानसरोवरको यात्रा पाप पखाल्नका लागि गरिएको आरोप लगाए । उनले भने, “मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्नको लागि मात्र भएको हो । कसले कति र कत्रो पाप गरेको छ, घरमा पूजा पनि सोहीअनुरुप लगाए जस्तै हो प्रधानमन्त्रीको भ्रमण ।”
मध्यावधि निर्वाचन भए एमालेले थप सिट बढाउने दाबी गर्दै उनले भने, “आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ ।”
प्रधानमन्त्रीले भारत र चीन भ्रमण गरे पनि त्यसको कुनै सार्थक र ठोस परिणाम नआएको ओलीले बताए । अहिले देशभर साम्प्रदायिक र धार्मिक द्वेष फैलाउने कुचेष्ठा भइरहेको भन्दै ओलीले यो कसैका लागि पनि हितकर नहुने सुनाए । “कसैले उकास्दैमा त्यसको पछि लाग्नु हुँदैन,” उनले भने ।
कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्