बझाङ भूकम्पमा परी सात जना घाइते, पहिरोले राजमार्ग अवरुद्ध
काठमाडौं, असोज १६ । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा ६ र अछामका एक गरी दुई जना व्यक्ति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) भरतबहादुर शाहले सत्यवादी मावि भोपुरका चार जना विद्यार्थीसहित पाँच जना र केदास्युँ गाउँपालिकाका एक जनागरी बझाङमा ६ जना घाइते भएका हुन्।
उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए। त्यसैगरी अछाममा भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन्।
बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन्।
भूकम्पका कारण ठाउँ–ठाउँमा भवनहरु भत्किएका छन्। तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको विवरण प्राप्त भएको छ।
Sagarmatha cement
nimb
भूकम्पसँगै आएको सुक्खा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीका अनुसार सडकमाथिबाट पहिरो जाँदा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पराकम्पन आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए। पाण्डेयले सडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए। उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउँदै सूचना संकलनको काम भइरहेको जानकारी दिए।
त्यसैगरी बाजुरा जिल्लाका विभिन्न स्थानमा भूकम्पका कारण घरहरु भत्किएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतकाअनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो।
त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमासमेत महशुस गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्