नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु
हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।
मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो । आइतबार मुस्लिम समुदायले निकालेको र्यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो ।
मंगलबार बिहान नेपालगञ्जमा धार्मिक तथा सामुदायिक सद्भाव र्याली निकालिएको थियो । ओमकार परिवारले नेपालगञ्ज बन्द र शान्तिपूर्ण र्याली निकालेको थियो । त्यसमा सिसाका बोतल प्रहार भएपछि स्थिति नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्