लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौं, असोज १६ ।  नेपालमा यसवर्ष पनि मनसुन लम्बिएको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भएपनि अझै मनसुन सक्रिय देखिएको हो ।

नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए । तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन् । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा अक्टोबर २ मा मौसम बाहिरिने दिन अनुमान गरिएपनि यसपालि मनसुन केही दिन लम्बिएको बताए । मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने उनको अनुमान छ ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए । ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ,’ उनले भने ।

दसैँसम्मै पानी पर्छ ?
मनसुन लम्बिएकाले कतै यसपालि ‘हिले दसैँ’ हुन्छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा देखिन्छ । तर यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दसैँको टीका परेको छ । अधिकमासका कारण यसपालि दसैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो ।

दसैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ सामान्यतः नहुने मौसमविद्हरू बताउँछन् । दसैँ छिटो परेको वर्षचाहिँ दसैँमा पानी पर्न सक्छ । मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको सङ्क्रमणले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ ।

प्रारम्भिक अवस्थामा मनसुन कमजोर हुँदा कहिलेकाहीँ मनसुनको अन्त्यतिर धेरै पानी पर्ने सम्भावना समेत हुने बताइन्छ । यस पटकको वर्षाको प्रवृत्ति र मात्राको पूर्ण मूल्याङ्कन मनसुन बाहिरिएपछि हुने भए तापनि यस वर्ष मनसुनमा औसतभन्दा कम नै वर्षा भएको विभागका वरिष्ठ मौसमविद् पौडेल बताउँछन् । यद्यपि त्यसो भन्दैमा दसैँ आसपासमा ठूलो पानी पर्न सक्ने सबै सम्भावनालाई नकार्न नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्