देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण सुशासन अनिवार्य आवश्यक : गृहमन्त्री श्रेष्ठ

हेटौँडा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् ।

हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए । देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रह समेत गरे । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भने, ‘हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।’

राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्याङ्कन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएकोे उनले जानकारी दिए । गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले कानुनी समस्याका कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउँदै प्रदेश सरकार सञ्चारमाध्यमको विकासका लागि हरदम तयार रहेको बताए । उनले सञ्चारमाध्यमलाई नियमनसँगै उत्कृष्टताका लागि प्रोत्साहन गर्ने बताए ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वर्तमान सरकारले सुशासनका लागि चालेको कदम स्वागतयोग्य रहेको बताइन् । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृिद्ध फिर्ता लिएर जनतालाई राहत दिएको भन्दै सरकारलाई धन्यवाद समेत दिइन् । सबैले आफ्नो स्थानबाट कर्तव्यको पालना गरेमा सुशासन कायम गर्न सकिने मन्त्री मोक्तानको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्