देशैभर बदली र वर्षा भइरहने

काठमाडौं, १५ असोज। न्यून चापीय प्रणालीको प्रभावका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण मनसुन बाहिरिने मिति केही दिन पर धकेलिएको छ ।

मौसमविद गोविन्द झाले भने, ‘सरदर मिति अनुसार आज मनसुन बाहिरिनुपर्ने हो तर आजसम्मको अवस्था हेर्दा आगामी बुधबारसम्म बाहिरिने सम्भावना देखिएको छैन ।’

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर वर्षा र बदलीको सम्भावना अझै कायमै रहेकाले मनसुन बाहिरिन केही दिन ढिला हुने मौसमविदको भनाइ छ । नेपालमा तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान गरिने भएकाले यो प्रणाली नेपालबाट कहिले बाहिरिन्छ भनेर एकिनका साथ भन्न नसकिने मौसमविदहरु बताउँछन् ।

मौसमविद झाका अनुसार अहिले कोशी प्रदेशको माथिल्लो भागका साथै मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । ती प्रदेशका एक(दुई स्थानमा भारी वर्षासमेत भएको छ । लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको कोइलाबासमा एक घण्टाको अवधिमा ४० मिलिमिटर वर्षामापन भइसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै हाल भारतको बिहार पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव परेकाले मनसुन बाहिरिने समयमा पनि वर्षा भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्