ग्यासको मूल्य २१५ रुपैयाँले बढ्यो, अब प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ

काठमाडौं १४, असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य २१५ रुपैयाँले बढाएको हो ।

निगमले एक महिनाको अन्तरालमा खाना पकाउने ग्यासको मूल्य ४५० रुपैयाँले बढ्यो, अब बढेको मूल्यसंगै प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो।

एक महिनाको अवधिमा ग्यासको मूल्य भारी रुपमा बढाइएको यो दोस्रो पटक हो । यसअघि भदौ १५ गते निगमले २३५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढाएको थियो । साविकमा एक हजार ८९५ रुपैयाँ प्रतिसिलिन्डरमा ग्यासको कारोबार भइरहेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ। यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढाएको छ । यसअघि भदौ १५ मा पनि निगमले पेट्रोलमा ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले मूल्य बढाएको थियो ।

हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर ८ रुपैयाँ) ले मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्