प्रधानमन्त्री पुष्पकमल दाहाल आज फर्कने

काठमाडौं १३, असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते चीन गएका प्रधानमन्त्री प्रचण्ड आज फर्कन लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारहरूसँग भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले चीनमा रहँदा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । हाङजाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

बेइजिङमा चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लिजी र समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । बेइजिङमा नेपाल९चीन लगानी सम्मेलनलाई पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।

बेइजिङबाट छोङछिङ गएका उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गरेका थिए भने त्यहाँ कृषि क्षेत्रमा भएका विकासको अवलोकन गरेका थिए ।

उनी कैलाश पर्वत र मानसरोबर गएर शुक्रबार छेन्दु पुगेका थिए। छेन्दुबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली आज फर्कन लागेको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्