सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज १२ ।  असोज कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी भएको बताएका छन।

आज ( (शुक्रबार) कार्यविस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार सङ्घ महासङ्घको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा जोड समेत दिए।

उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी रहेको उल्लेख गरे।

कार्यवाहक प्रधानमन्त्री खड्काले तीन वटै तहका सरकार मिलेर काम गरे मात्र सङ्घीयता कार्यान्वयन हुने बताए।

संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत सङ्घीय कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको समेत बताए। उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र सङ्घीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भइसकेको बताए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले अधिकारको खोजी गर्दा सङ्घीयतालाई ध्यान दिन सुझाव दिए। उनले अहिले सबैमा अधिकारको तानातान गर्ने प्रवृत्ति देखिएको भन्दै प्राप्त अधिकारको अधिकतम प्रयोग गर्नका लागि स्थानीय सरकारका अधिकारीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्