क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विधान निर्वाचित क्यानले हुबहु पारित गरेको छ ।
बिहीबार काठमाडौंमा भएको निर्वाचित क्यानको विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले प्रदान गरेको सल्लाहकार समितिले बनाएको प्रस्तावित विधान मस्यौदालाई हुबहु पारित गरेको हो ।
सो विधान पारित भएपछि आइसीसीको आगामी जुलाईमा हुने वार्षिक साधारणसभाले क्यानमाथि लागेको निलम्बन खुलाउनसक्ने सम्भावना बढेको छ ।
क्यानको साधारणसभामा ३९ जिल्ला र क्यानका निर्वाचित १५ पदाधिकारीसँगै आइसीसीका प्रतिनिधि सहभागी थिए ।
गत भदौमा क्यानको पछिल्लो विशेष साधारणसभाले सल्लाहकार समितिको प्रस्तावित विधान संशोधन गरेपछि आइसीसीले त्यसलाई राजनीतिक हस्तक्षेप भन्दै अस्वीकार गरेको थियो ।
योपटकको साधारणसभाले विधान हुबहु पारित नगरेको भए नेपालको निलम्बन फुकुवा हुनुभन्दा पनि सदस्यता नै खारेज हुने सम्भावना थियो ।
दुई वर्षदेखि क्यानलाई निलम्बन गरी आइसीसीले नेपाली क्रिकेट टिमलाई आफैंले अन्तर्राष्ट्रिय स्पर्धामा प्रतिस्पर्धा गराइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्