मंगोलियामाथि नेपालको शानदार जित

काठमाडौं १०, असोज । नेपाली क्रिकेट टोलीले मंगोलियामाथि  शानदार जित निकालेको छ । चीनको हाङजाउमा जारी एसियन गेम्समा नेपाली क्रिकेट टोलीले मंगोलियालाई २७३ रनले हराएको हो ।

नेपाल टस हारेर ब्याटिङमा उत्रिएको थियो । निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया १३।१ ओभरमा ४१ रनमा समेटियो ।

मंगोलियालाई हराउने क्रममा नेपालले सात ठूला कीर्तिमान पनि बनायो । नेपालले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक ३ सय भन्दा माथि रन बनायो । कुशल मल्ल विश्‍वको सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने । दीपेन्द्रसिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको कीर्तिमान पछि पार्दै सर्वाधिक छिटो अर्धशतक बनाए ।
त्यस्तै, अर्को कीर्तिमान ठूलो मार्जिनको जितमा पनि बनायो । नेपालले चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको जितको कीर्तिमानलाई पछि पार्दै २७३ रनको जितको कीर्तिमान बनाएको हो । यसका अलावा अरु तीन किर्तिमान पनि बनाएको छ ।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल मल्ल १३७ रनमा अविजित रहँदा मात्र १० बल खेलेका दीपेन्द्रसिंह ऐरी ५२ रनमा अविजित रहे। त्यस्तै कप्तान रोहित पौडेलले ६१ रन बनाउँदा कुशल भुर्तेलले १९ तथा आशिफ शेखले १६ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया ४१ रनमा समेटियो । मंगोलियाका लागि दावासुरेन जमयानसुरेनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ नेपालका अभिनास बोहोरा, करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १र१ विकेट लिए। नेपालले अर्को खेलमा माल्दिभ्ससँग आइतबार खेल्दैछ।

 

प्रतिक्रिया दिनुहोस्