आवासीय चिकित्सकहरू आन्दोलित

काठमाडौँ, ९ असोज। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले जानकारी दिए ।

लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनले बताए । ‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्दै उहाँहरू आन्दोलित हुनुभएको हो । तीनदेखि चार बजेसम्म उहाँसँग अस्पतालले छलफल गर्छ । तर, यो आन्दोलन कहिलेसम्म जान्छ थाहा छैन,’ उनले भने,

चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । ‘आजका लागि आकस्मिक सेवा उपलब्ध गराउन अस्पतालले चिकित्सक व्यवस्थापन गरेको छ,’ उनले भने, ‘आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिनु हुन्छ । बढी आक्रमणमा पर्ने उहाँहरू बढी हुनुहुन्छ । ’

 

प्रतिक्रिया दिनुहोस्