एक सिङ्गे गैँडा नेपालले चिनियाँलाई उपहार स्वरूप प्रदान गर्ने

काठमाडौँ, ९असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएका छन् ।

चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमतिसमेत दुई देशबीच भएको छ । यस्तै, चिनियाँ पक्षले ८औँ ‘चाइना साउथ एसिया फ्रेन्डसीप अर्गनाइजेशन’ फोरममा मित्र राष्ट्रको रूपमा भाग लिन समेत नेपाललाई आग्रह गरेको छ ।

यसैगरी, नेपाल–चीन दुई देशका विभिन्न सहरहरूबिच भगिनी सहरको सम्बन्ध स्थापना गर्ने र दुई देशबिचको जनता–जनताको सम्पर्कलाई गहिरो बनाउने सहमति समेत भएको छ ।

जनवादी गणतन्त्रको प्रेस र प्रकाशनको राष्ट्रिय प्रशासन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यक संस्कृति जानकारी तथा सूचना अनुवाद र आदान प्रदान गर्ने, चिनियाँ भाषालाई नेपालमा पठनपाठनको व्यवस्था गरिने सहमति भएको छ । नेपालमा चिनियाँ भाषा पढाउने मात्र नभई परीक्षण र सहयोगका लागि चिनियाँ भाषा शिक्षक समेत पठाउने चिनियाँ पक्षले सहमति गरेको छ ।

साथै नेपाल–चीन सांस्कृतिक आदानप्रदान र सहयोग प्रवर्द्धनका लागि दुवै पक्षले नेपालमा चाइना कल्चरल सेन्टर, कन्फ्युसियस इन्स्टिच्युट र कन्फ्युसियस क्लासरुम सञ्चालनको कार्यलाई निरन्तरता दिने समेत सहमति भएको छ ।

संस्कृति आदान प्रदानका क्रममा विश्वकै दुर्लभ एक सिङ्गे गैँडा नेपालकातर्फबाट चिनियाँ पक्षलाई उपहार स्वरूप प्रदान गर्ने सहमति समेत प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्