आन्दोलित शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई
काठमाडौं- आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन्। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षामन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसको जानकारी गराएका हुन्।
मन्त्री खड्काले शिक्षकका माग सम्बोधन गर्ने बताएका छन्। पार्टी मुख्यालय सोनपामा जारी केन्द्रीय समिति बैठकमा उनले सरकारले पहिला गरेको सहमतिबाट पछि नहट्ने पनि दाबि गरेका छन् ।
उनले भने, ‘सहमति भएको बुँदाबाट सरकार पछाडि हट्दैन। तत्काल अर्थतन्त्रले धान्न नसक्ने कुरा र संविधानले शिक्षाबारेमा बन्दोबस्त गरेको प्रतिकूल हुने कुरा हुन सक्दैन। उप्रधानमन्त्री तथा गृहमन्त्रीको नेतृत्वमा वार्ता सुरु भएको छ। समाधान हुन्छ। यो बाटोमा सरकारले अग्रसरता लिएको छ,’ उनले बैठकमा भने।
१८ बुँदे माग राखेर शिक्षक आन्दोलित छन्। सरकारले एक साताअघि संसद्मा प्रस्तुत गरेको नयाँ शिक्षा विधेयकमा समेटिएका बुँदाप्रति असहमति जनाउँदै विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकको संस्था नेपाल शिक्षक महासंघले हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेपछि मुलुकभरका २७ हजार ३४३ सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७० लाख विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभावित भएको छ।















प्रतिक्रिया दिनुहोस्