केन्द्रीय समिति बैठकअघि सभापति देउवासँग गम्भीर संवाद गर्ने शेखर समूहको निर्णय

काठमाडौं, असोज २ ।  नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी र सरकार प्रभावकारी रुपले नचलेको भन्दै सभापति शेरबहादुर देउवासँग गम्भीर संवाद गर्ने निर्णय गरेको छ ।​

बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले पार्टी र सरकारको काम सन्तोषजनक नभएकोले सभापतिसँग ४ गतेको केन्द्रीय समिति बैठक अघि नै गम्भीर संवाद गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य सञ्जय गौतमले दिए ।

‘हामी पार्टीका अनुशासित र मर्यादित नेता हौं । हामी गुटबन्दी पनि विचार समूहका रुपमा छौं । पार्टीमा भ्रातृ संस्था, विभाग प्रभावकारी नचलेको, समयमा अधिवेशन नभएको, युवामा विचलन निराशा आएको जस्ता थुप्रै सवाल छन्’ गौतमले भने, ‘साथै सरकारको कार्यसम्पादन प्रभावकारी भएन ।​भ्रष्टाचारी र सुशासनमा विषयमा पनि सरकारले निष्पक्षता देखाएन भन्ने छ । हामी ठूलो पार्टीका रुपमा समर्थन गरिरहेका छौं तर राम्रो कामको जस प्रधानमन्त्रीले नराम्रोको भाग हाम्रो आउने भइरहेको छ ।’

सत्ता र सरकार टिक्नुमात्रै ठूलो नभएको भन्दै नागरिकप्रति भरोसा दिलाउनुपर्ने शेखर पक्षको मत छ । साथै छानि-छानी कांग्रेस नेतामाथि अनुसन्धान गरेको विषयलाई पनि सभापतिसँग कुरा गर्ने निर्णय यो समूहले गरेको छ ।

‘छानि-छानी कांग्रेस नेतालाई मात्रै तान्ने काम भएको छ । यसैले हाम्रो नेता शेखरसहितका पदाधिकारीले केन्द्रीय समितिको बैठक अगाडि सभापतिसँग गम्भीर छलफल गर्ने निर्णय गरेको छ’ गौतमले भने, ‘भ्रष्टाचारविरुद्धको छानबिन,विभिन्न विधेयक, टीआरसीजस्ता विषयमा सरकारको काम प्रभावकारी भएन । सत्ता टिक्नु र सरकार टिकाउनुमात्रै मुख्य होइन मुलुक र जनता ठूला हुन् । यसैले हामीले ध्यानाकर्षण गराउन खोजेका हौं ।’

अर्का नेता मधु आचार्यले सिंगो पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताए ।

‘आम जनताले अपेक्षा गरे अनुसार पार्टीलाई रुपान्तरण गरेर जाने विषयलाई हामीले मुख्य जोड दिएका छौं’ आचार्य भन्छन्, ‘केन्द्रीय समितिको बैठक बैठकको लागि मात्रै बस्ने भएन । ठोस र तार्किक एजेन्डासहित बैठक बस्नुपर्छ भन्ने हाम्रो माग छ ।’

बैठकमा शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारीसहितका नेता सहभागी थिए ।

४ असोजमा केन्द्रीय समितिको बैठक गर्नु पूर्व शेखर समूहले छुट्टै बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्