बल्खु तरकारी तथा फलफूल बजार १२ वर्षमा प्रवेश
काठमाडौँ । बल्खु तरकारी तथा फलफूल बजार १२ वर्षमा प्रवेश गरेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको बजारमा तरकारी तथा फलफूल सुपथ मूल्यमा खरिद बिक्री हुने गरेको छ। देशका विभिन्न जिल्लाबाट कृषि उपज आयात हुने उक्त बजारबाट काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रमा तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ।
बजारको स्थापना दिवशका सन्दर्भमा व्यवसायी, उपभोक्ताको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले मुलुकको समग्र विकासका लागि आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि कृषि क्षेत्रमा लगानी बढाउन सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रोजगारीको अभावमा ठूलो युवा शक्ति विदेशिन बाध्य रहेकाले कृषि उत्पादन वृद्धि गर्न सकेमा स्वदेशमा रोजगारीको सृजना गर्न सकिने बताउनुभयो। कुँवरले कृषक र उपभोक्ताको हित तथा अधिकारलाई सुनिश्चित गर्न बजारले जोड दिएकाे बताउँदै स्थानीय सरकारले उनीहरूको सामाजिक रुपान्तरणका लागि आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको भन्दै उहाँले आर्थिक विकास, समृद्धि तथा राष्ट्र निर्माण स्वदेशी उत्पादन र त्यसको प्रयोगमा सचेत हुन आग्रह गर्नुभयो। कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दे आएको जानकारी दिँदै निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरणर तथा क्तदान कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्