चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली

काठमाडौं, भदौ ३१ । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली भएको छ।

संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको हो।

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा।विकास थापा र डा।प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा कुटिएको विरोधमा संघका आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो।

बन्दका कारण काठमाडौँका प्रमुख अस्पतालहरु वीर अस्पताल, टिचिङ्ग अस्पताल, पाटन अस्पताल लगायत अस्पतालहरुमा उपचार गर्न आएका बिरामीहरुको बिचल्ली भएको छ।

आन्दोलनरत चिकित्सकहरुसंग छलफलका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने पाँच सदस्यीय वार्ता समिति बनाएको छ। स्वास्थ्य सचिव डा।विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थय मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो। अहिले चिकित्सक र सरकारबीच वार्ता चलिरहेको छ।

यता डाक्टर कुटपिट घटनाका आरोपित भने पक्राउ परिसकेका छन्। पक्राउ परेका चारजनालाई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरले तीन दिनको म्याद थप गरेको छ।

गत साउन २५ मा डेंगी संक्रमणबाट मृत्यु भएका हेटौंडा १२ का ४० वर्षीय राजेश प्रधानको विषयलाई लिएर डाक्टरमाथि हातपात भएको हो। डाक्टरको लापबाहीका कारण मृत्यु भएको भन्दै उनका परिवारले दुईजना डाक्टरलाई हातपात गरी घाइते बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्