४ बैंकले गरे लाभांश घोषणा, एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, भदौ ३० । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे र सनिमा बैंकले लाभांश घोषणा गरिसकेको छ । ४ बैंकले लाभांश घोषणा गरेसँगै अब लगानीकर्ताको ध्यान नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि र एसवीआई बैंकले कति लाभांश वितरण गर्ला भन्ने तर्फ उन्मुख भएको छ ।
स्टयाण्डर्ड चार्टर्डले २९ प्रतिशत, नबिल र कृषि विकास बैंकले करिव १५ प्रतिशत तथा एसबीआईले करिव १४ प्रतिशत लाभांश दिन सक्ने क्षमता भएकाले यी बैंकको शेयरमा लगानीकर्ता ध्यान जान थालेको हो ।
अहिलेसम्म ४ बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै, एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । बाँकी १९ मध्ये ४ वटाले लाभांश प्रस्ताव गरिसकेका छन् । अझै १५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् ।
प्रतिक्रिया दिनुहोस्