सवारी दुर्घटनामा पाँचको मृत्यु, पाँचजना मृत फेला
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा पाँच जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार काठमाडौं, तारकेश्वर नगरपालिका-६ पैयुटारस्थित सडकमा प्रदेश.३-०१-०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री काठमाडौं पैंयुटार बस्ने रसुवा उत्तरगया गाउँपालिका-५ घर भएका १५ वर्षीय रोनिस थापाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजंगजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका-३ स्थित सडकमा बा.७९ प ३४६४ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-७ बस्ने ३० वर्षीय शिरिष कुमार सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.३ ख ७९१७ नम्बरको ट्रकको ठक्करबाट मकवानपुर हेटौँडा उपमहानगरपालिका-१७ बस्ने सुनिता श्रेष्ठकी छोरी ३ वर्षीया दर्शना श्रेष्ठको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, धनौजि गाउँपालिका-४ भडरिया हाडा टोलमा साईकलबाट लडेर औरहि गाउँपालिका-२ परवाहा बस्ने अब्दुल साफिको छोरा ७ वर्षीय आर्यन साफिको बिहीबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको सिटि अस्पताल जनकपुर हुँदै प्रादेशिक अस्पताल सिरहामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, रुपनी गाउँपालिका-१ स्थित सडकमा स.४ प ५७६० नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका-३ हर्दिया टोल बस्ने ४५ वर्षीया सिलावती मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको युनिक अस्पताल रुपनी सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत फेला
बारा, देवताल गाउँपालिका-४ पिप्रढी टोलस्थित नहरमा सोही ठाउँ बस्ने ८० वर्षीय हात्तिम मिया बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फिदिम नगरपालिका-७ रानिटार बस्ने ४८ वर्षीया सिजमाया राई फिदिम नगरपालिका १ र ७ को सिमास्थित नाम्दु खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
लमजुङ, राईनास नगरपालिका-६ पोखरेटारस्थित बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय पुर्ण बहादुर सार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ५६ वर्षीया मानकी देबी पंन्जियार सोही ठाउँस्थित बँगैचामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
ललितपुर, बागमती गाउँपालिका-७ गिम्दी बेसीस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस्