शेखरको प्रश्न : सभापति र महामन्त्रीहरु दुई ध्रुवमा भएपछि कसरी चल्छ पार्टी ?
काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाडिएको बताएका छन् ।
बीपी युथ सर्कलले बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरेको युवाहरूको विचार सम्मेलन कार्यक्रममा बोल्दै उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टी कसरी चल्छ भन्दै प्रश्न गरे ।
‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनु भएको छ । अनि पार्टी चल्छ कसरी ? यो सोचेका छौँ ?’, उनले भने । बीपी कोइरालाको समयमा पार्टी सभापति सिस्टममा चल्ने गरेको भन्दै नेता कोइरालाले सभापति प्रणाली हो भने पार्टी त्यसरी नै चल्नुपर्ने र बहुपदीय सिस्टममा पार्टी चल्ने भए त्यसरी नै चल्नुपर्ने बताए । अहिले पार्टीभित्र सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टीमा विग्रह आएको उनले बताएका छन् ।
‘सभापति प्रणाली हो भने त्यो हिसाबले हिँड्नुपर्यो । नभए अर्कै कुनै उपाय खोज्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । अहिले बहुपदीय भनिएको छ । बहुपदीयलाई खराब त भन्दिनँ, तर मिलेको छैन । यसले हामीलाई बिगारेको छ’, उनले भने । उनले पार्टी र सरकार पारदर्शी बन्नुपर्ने धारणा राखे । साथै, कोसी प्रदेशमा धार्मिक दंगा फैलन सक्ने डर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्