वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध

काठमाडौं, भदौ २१ ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताउनुभएको छ ।

बिहीवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताउनु भयो । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको बताउनु भयो । उहाँले सरकारले बनाएको नीतिअनुसार सञ्चालन भएका संस्थाहरु कम मात्रै रहेकाले त्यसको लागि नियमन जरुरी रहेको बताउनु भयो

समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै विवादरहित नीति बनाएर चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार तोक्नुपर्ने बताउनु भयो । उहाँले आयोग र सिटिइभिटीको क्षेत्राधिकारमा विवाद हुँदै आइरहेको भन्दै त्यसका लागि आयोग र सिटिइभिटीले समन्वय बढाउनुपर्ने बताउनु भयो ।

सांसद पौडेलले चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित निकायको नियमनका लागि बनेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्