गृहमन्त्रीलाई कांग्रेसको प्रश्न : काठमाडौंमा एक्लै हिँड्न नमिल्ने अवस्था आएको हो?

काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा बुधबार भएको आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले पार्टीका सहमहामन्त्री यादवलाई काठमाडौँमै आक्रमण भएको भन्दै काठमाडौँमा एक्लै हिड्न नमिल्ने भएको हो भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रश्न गरेका छन् ।

महामन्त्री थापाले भने- कांग्रेसको तर्फबाट सरकारलाई सचेत र ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान गरेर, यो घटना किन भयो, कसरी भयो यो विषयसँग जोडिएका सबै पक्षहरु उजागर होस् । म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु । के अब काठमाडौँमा एक्लै हिड्न नमिल्ने भएको हो ? कोहि जलाइदिन्छु भन्छ कोहि खुकुरी हान्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई धेरै नबोल्न र परिणाम आउने काम गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

सञ्चारमाध्यममा समेत हिँसा जायज हुन्छ भन्ने भाष्य स्थापित गराउने प्रयास भएको भन्दै जसरी अराजकतालाई प्रसय दिन खोजे यसले नेपाली समाजले ठुलो मुल्य चुकाउनुपर्ने हुनसक्ने बताए ।

साथै महामन्त्री थापाले कान्ति बाल अस्पतालमा उपचार नपाएर मृत्यु भएको घटनालाई सामसुम नपर्न चेतावनी दिदै सत्य तथ्य संसदलाई जानकारी दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्