नेपाली क्रिकेटरलाई भारतीय खेलाडी र प्रशिक्षकले लगाइदिए मेडल

काठमाडौं, भदौ १९ ।  नेपालका क्रिकेट प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली क्रिकेटमा आमुल परिवर्तन आएको छ। उनको नेतृत्वमा नेपालले क्रिकेटमा एतिहासिक जित समेत हात पारेको छ। मोन्टीले नेपालको खेलमात्र सुधारेका छैनन्।

उनले नेपाली खेलाडीको मनोबल बढाउन नयाँ नयाँ उपाय पनि अपनाएका छन्। यसै अनुसार उनले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा ल्याएका छन्। उनको यो कदमको चर्चा नेपाली क्रिकेट प्रेमीमाँझ लोकप्रिय छ।

यसैबीच श्रीलंकामा जारी एसिया कपको खेलमा भारतले नेपालीमाथी १० विकेटको जित हात पार्यो। पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपालले सोमबार भारतविरुद्धको खेलमा गरेकाे प्रदर्शनको भने प्रशंसा भइरहेको छ। टस हारेर पहिला व्याटिङ गरेको नेपालले ४८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियाे। नेपालका लागि सबै भन्दा वढि आसिफ शेखले ९७ बलमा ८ चौकासंगै ५८ रन बनाए ।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । कुसल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का सहित ३८ रनको योगदान दिए। दिपेन्द्रसिंह ऐरीले २९ र गुलसन झाले २३ रन बनाए । नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछाने ९ रन बनाएर रन आउट भए। बारम्बार वर्षाले खेल अवरूद्ध भएपछि डिएलएस मेथड अनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो। जुन लक्ष्य भारतले १७ बल बाँकी छदै पुरा गरेको हो।

हारेपनि नेपाली टिमका खेलाडीलाई भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिएका छन्। क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा ड्रेसिङ रुममा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाइदिएकाे देख्न सकिन्छ।

प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुममा खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न टोकन अफ लभ बाड्ने गरेका थिए। सोमबार पनि भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको हो। भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए। यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्