काठमाडौंमा हट्दै आँखा पाक्ने रोगको संक्रमण

काठमाडौं , भदौ १८ । काठमाडौं उपत्यकामा एक महिनाअघि उच्च बनेको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् हराउँदै गएको छ ।

उपत्यकाका प्रमुख आँखा अस्पतालहरूमा कन्जन्टीभाइटीसका बिरामीको दर १५ प्रतिशतमा झरेको छ ।

एक महिनाअघि कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा आइपुग्ने बिरामीमध्ये ६५ प्रतिशतसम्ममा यो संक्रमण देखिएको थियो । तर, पछिल्ला केही दिनयता यो दर १५ प्रतिशतमा झरेको अस्पतालका मेडिकल डाइरेक्टर डा। एरिक वैद्य बताउँछन् ।

तिलगंगा आँखा प्रतिष्ठानमा पनि यो दर २० प्रतिशतमा झरेको तथ्यांक छ । संक्रमण घट्दै गएपनि जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउँछन् ।

प्रतिष्ठानमा दैनिक १२० जनाका दरले कन्जन्टीभाइटीसका बिरामी आइरहेको अस्पतालको तथ्यांक छ । एक महिनाअघि यो दर दैनिक १६० देखि २०० सम्म थियो ।

एउटै सामग्रीबाट धेरैजनाले मेकअप गर्दा संक्रमण फैलिने जोखिम बढेर जान्छ । संक्रमण भएका व्यक्तिहरूले पनि दुई सातासम्म आँखाको मेकअप नगर्न डा। वैद्यको सुझाव छ ।

भाइरल कन्जन्टीभाइटीस् निको भएको दुई सातादेखि एक महिनासम्म आँखाको मेकअप नगरेको राम्रो भनेका छन् ।

किनकी त्यही संक्रमण नभएपनि मेकअपका कारण अन्य संक्रमण थपिने जोखिम रहन्छ, डा। वैद्य भन्छन् । एउटै सिजनमा एउटै व्यक्तिलाई संक्रमण दोहोरिने जोखिम पनि रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्