उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला
काठमाडौं, १५। तातोपानी नाका आजदेखि खुला गरिएको छ । करिब ८वर्षपछि सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । सुरुमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन्, उनले भने ।
लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ । स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।
आउजाउ भर्खर सुरु भएको छ । त्यसैले कम मानिसलाई प्रवेश अनुमति दिएका छौं ,खासाको छिट्टै सम्पन्न हुने पुनर्निर्माणपछि नेपाली पर्यटक लिपिङबाट सिधै न्यालम जान पाउने व्यवस्था गरिने छ, अध्यागमन कार्यालयका प्रमुख रविन्द्र पोखरेलले भने । सीमाबाट ३० किलोमिटर दुरीमा हिमाली बजार न्यालम रहेको छ ।
यसअघि १५ जेठ २०७६ मा आयात र गएको वैशाख १८ देखि यो नाकाबाट निर्यात खुला भएको थियो । नेपाल(चीनका अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र सीमाना लिपिङमा चरणबद्ध बैठक भएका थिए । भूकम्प र बाढीपहिरोले सीमा पुग्ने कोदारी राजमार्ग जीर्ण छ । कोरोना महामारीले लगभग तीन वर्ष आयात पनि अनियमित बनेको थियो । सरोकारवाला सबैले तातोपानीबाट तिब्बतको कैलाशमान सरोवर जान पनि नेपाल सरकारमार्फत चीन सरकारसँग कूटनीतिक संवाद जारी राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले असोज पहिलो सातामा गर्ने चीन भ्रमणमा यसबारे कुरा हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्