गगन थापाको प्रधानमन्त्री प्रचण्डलाई चेतावनी- नयाँ ढंगले सामना गर्न तयार रहनु

काठमाडौं, भदौ १२ ।  नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ ढंगले सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका गगनले सांसदलाई सरकारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउदै नयाँ ढंगले सामना गर्न तयार रहन चेतावनी दिएका हुन् ।

गगनले भने- ‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला ।’

गगनले हेपेको कुरा स्वीकार्य नहुने बताउदै प्रधानमन्त्रीले मसँग बहुमत छ, सांसदहरू थपडी बजाउन आएका हुन् भनेर नसोच्न चेतावनी दिएका छ ।

गगनले सरकारले ल्याएको मुलुकी फौजदारी संहिताको संशोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी सरकारले विधेयक ल्याएकोमा विरोध गर्दै भनेका छन्- ‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था कांग्रेसलाई स्वीकार्य छैन । कानूनमन्त्रीलाई आग्रह छ, २०७४ सालको नेकपा सरकारले गरेको ड्राफ्ट नबोक्नुस् । यसरी ऐन ल्‍याउनु भनेको हिजो पनि आज पनि सांसदलाई हेपेको हो । किनकी संसदीय व्यवस्थामा सरकारलाई मसँग बहुमत छ, जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपालि देखाउनुछ ।’

 

प्रतिक्रिया दिनुहोस्