मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा प्रधानमन्त्री नै संलग्न छन् : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधानविपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीको सो भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उनले सो अभिव्यक्तिप्रति निन्दा र भत्र्सना समेत गरे ।

प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैलाउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न रहेको आरोप समेत लगाए ।

“म यो देशमा जातीय राज्य स्थापित गराई छोड्छु जस्ता अभिव्यक्तिहरु निरन्तर रुपमा दिँदै आउनुभएको छ । यो अभिव्यक्ति असंवैधानिक त छँदै छ,” उनले भने, “सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैलाउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सृजना गर्ने र मुलुकमा त्रादसीपूर्ण स्थिति सृजना गर्ने काममा स्वयं प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ ।”

प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भने पनि त्यसअनुसारको काम गर्न नसकेको जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्