विद्युत नियमन आयोगद्वारा ग्रिड कोड जारी

काठमाडौं,८ भदौ । विद्युत नियमन आयोगले ग्रिड कोड जारी गरेको छ । आयोगले सरोकारवालाहरुसँग पटक पटक छलफल तथा राय सुझाव र प्रतिक्रियापछि आयोगले ग्रिड सिंहिता तयार गरि लागू गर्र्दै ग्रिड कोड जारी गरेको हो ।

ग्रिड सिंहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतिय ग्रिड सिंहिता २०८० को दफा २.३, २.१ अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटि गठन गरि अध्यक्ष, सचिव र सदस्यहरु तोक्नका लागि आयोगका सदस्य गौतम डंगोलको अध्यक्षतामा उक्त कमिटिलाई पूर्णता दिनको लागि कार्यभार तोकिएको छ ।

विद्युत प्रसारण र वितरणमा ग्रिडको महत्वपूर्ण स्थान रहेको हुन्छ । एउटा देशमा एउटामात्र ग्रिडकोड रहेको हुन्छ । विद्युत नियमन आयोगले लामो गृहकार्यपछि यो ग्रिड सिंहिता तयार गरेको हो ।
ग्रिड सिंहिता तयार गर्ने क्रममा आयोगले विभिन्न सरोकारवाला, विषयविज्ञ, सेवा प्रदायकलगायतसँग पटक पटक छलफल गरि राय सुझाव र प्रतिक्रिया मागपछि अन्तिरुप दिन गोष्ठि समेत आयोजना गरेको थियो ।
कार्यसाला गोष्ठिको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति वस्नेतले ग्रिड सिंहिता र मापडण्ड निर्माण गरि विद्युतको माग र आपूर्तीलाई गुणस्तरयुक्त बनाउने र निर्यात गर्न मिल्नेगरि ग्रिड संंहितालाई व्यवस्थित गर्नुपर्ने बताए ।

आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युतीय ग्रिड सिंहिता देशमा विद्युत उत्पादन बढेकाले दक्षिण एशियाली क्षेत्रमा विद्युत व्यापार गर्नु पर्ने अवस्थामा अझबढी महत्व भएको कुरा व्यक्त गरे । विद्युत प्रसारणमा ग्रिड सिंहिताको उचित व्यवस्थापनबाट नै उत्पादित विद्युत उपभोक्ता समक्ष सुरक्षित र भरपर्दाे तरिकाबाट पुर्याउन सकिने उनले बताए । विद्युत प्रवाह हुँदा उतार–चढावबाट हुने दुर्घटनालाई ग्रिड सिंहिताले व्यवस्थापन गर्न सहयोग पुग्ने बताए ।

हालै लागू भएको विद्युतीय ग्रिड सिंहिताले विद्युत प्रवाह सम्बन्धि न्युनतम आवश्यक मापडण्ड परिपूर्तिगर्न, ग्रिड सन्तुलन कायम राख्न, देश तथा देश बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ ।

यसले प्रसारण प्रणालीको योजना, सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ ।अन्तरदेशिय विद्युत व्यापार र प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न ग्रिड सिंहिता प्रभावकारी हुन्छ । त्यसैगरि ग्रिड प्रणालीको जडान, सञ्चालन, मर्मत संभारका लागि दिशानिर्देश, जिम्मेवारी, मापडण्ड र दायत्विहरु स्थापित गर्ने दस्तावेज पनि हो ।

ग्रिडको स्वामित्व रहेका संस्था, प्रणाली सञ्चालक, ग्रिड प्रयोेगकर्ताहरुबीच सिमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोगलाई सहज बनाउनका लागि ग्रिड सिंहिता ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्