प्रतिनिधिसभा बैठकः शून्य समयमा कसले के भने?
काठमाडौं, भदौ ७ । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बाल्दै अर्यालले सरकारले श्रमिकहरुको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताए। उनले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताए। पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने उनको भनाइ छ।
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी ८ वर्षअघि टिकापुरमा आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन भएको भए पनि थारुहरु जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरुलाई जेलमुक्त गर्न माग गरे। उनले थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्ने चेतावनी दिए।
प्रतिनिधि सभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले सिटिइभिटीअन्तर्गत सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे।
यस्तै, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे।
प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौँ उपत्यका नदी व्यवस्थापन गुरुयोजना बनाएर काम अगाडि बढाउनुपर्ने बताए। उनले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे। उनले शुल्क वृद्धि अस्वभाविक भएको बताए। पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगले चलिरहेको भन्दै यसलाई सुधार गर्नका लागि शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्