नेपाली कांग्रेसद्वारा पार्टीको दोस्रो चरणको अभियान स्थगित

काठमाडौं , भदौ ५ । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मंगलबार बसेको पदाधिकारी बैठकले जनतासंग कांग्रेस अभियान स्थगित गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एकातिर संसद् चलिरहेको र अर्कोतिर बर्खामा कार्यक्रम गर्न पनि सहज नभएकाले केही समयका लागि अभियान स्थगित गरिएको जानकारी दिए । उक्त अभियानको अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने पौडेलले जानकारी दिए ।

आजको बैठकमा साउन २० देखि ३० गतेसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा भएको छ । अभियानले कांग्रेसलाई गतिशील बनाउने बैठकको निष्कर्ष छ । पार्टी भ्रातृ संस्थालाई संगठन विस्तारका लागि व्यापक परिचालन गर्नेबारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्