लामखुट्टे नियन्त्रण गर्न महानगरले जैविक विषादी छर्दै

काठमाडौं । काठमाडौंमा लामखुट्टे नियन्त्रणका लागि जैविक विषादी छर्किने अभियान महानगरले थाल्ने भएको छ ।

लामखुट्टेको टोकाईबाट काठमाडौंमा डेंगी संक्रमण तीब्र भएपछि महानगरपालिकाले विषादी छर्किने अभियान सुरु गर्न लागेको जानकारी मेयर बालेन शाहले दनिुभएको छ ।

मेयर शाहले मंगलबार सामाजिक संजाल मार्फत लामखुट्टेको लार्भा नस्ट गर्न बायो लार्भिसिद नामको जैविक विषादी छर्न लागेको र यो खालको विषादी पहिलो पटक छर्किन लागेको जानकारी दिनुभएको हो ।

यो विषादीले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी पनि मेयर शाहको छ । यो जैविक विषादीले लामखुट्टेको लार्भाको पेटमा विष उत्पन्न गर्ने र त्यसको पाचन प्रक्रिया नष्ट भई मर्ने उहाँको भनाइ छ । यसले डेंगी, फिलारिया, औलो जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने दाबी पनि उहाँले गर्नुभएको छ ।

यस्तै, महानगरपाकिाले डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० को ब्यवस्था गरिएको भन्दै उक्त सेवा २४ सै घण्टा सञ्चालनमा रहने पनि बताउनु भएको छ । विरामी भई अस्पताल नै जानु पर्ने अवस्थामा १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको पनि निशुल्क वितरणको व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्