संसद चल्न नदिने र अमर्यादित बनाउने सरकार नै हो : अध्यक्ष ओली

काठमाण्डौ , भदौ ४ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिने र अमर्यादित बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताए । उनले सत्तापक्षले विपक्षी दलले बोल्न थाल्ने वितिक्कै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको आरोप लगाए ।

आफूहरु संसद चलाऊ भन्नेमै रहेको तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो बनेको बताउँदै भने, ‘सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ । नचाहिने कुरा गर्ने थलो भएको छ । संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो । देशको समस्या ल्याएको ठाउँ हो । गम्भीर समस्या ल्याउने थलो हो ।’ ओलीले अपराधी पृष्ठभूमिका मानिसहरू भूलचुकले निर्वाचित भएर पनि आउने गरेको बताएका छन् ।

यसअघि एमालेले ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाएको सुनको जलहरी पित्तल भएको भन्दै सत्तारुढका सांसदको आरोप लगाएपछि संसद् अवरुद्ध पारेको थियो । त्यसपछि सांसदको भनाइ संसदको अभिलेखबाट हटाउने प्रमुख दलबीच सहमति भएपछि अवरोध अन्त्य भएको थियो ।

कार्यक्रममा उनले एमालेले नभइ सत्तापक्षले संसद अवरुद्ध पारिरहेको बताए । ‘अहिले हामीले संसद् चल्न दिएन भनेर हल्ला चलाइएको छ । हामीले तस्करी रोक्न भनेका हौं,’ ओलीले भने । उनले त्रिभुवन भन्सार मात्रै नभएर देशका विभिन्न स्थानबाट भएको सुन तस्करीसहितको छानबिन माग गरिएको दाबी गरे । ’हामीले छानबिन समिति बनाऔं भनेका छौं,’ उनले थपे, ‘सरकारले भने जे भन्यो त्यही मान्ने प्रहरीलाई अनुसन्धान गराउन खोजेको छ । प्रहरीले भनेको नमान्दा सरुवा गर्ने गरेको छ ।’ उनले प्रायोजित रूपमा फाइलहरू खोलिने भनेर हल्ला चलाइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्