सिआईबीले लियो नेपाल र भट्टराईसँग बयान
काठमाडौं, भदौ ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बयान लिएको छ ।
सिआईबीले नेपाल र भट्टराईसँग गएराती बयान लिएको स्रोतले बताएको छ । सिआइबी कुन ठाउमा बयान लियो भन्ने बारे स्पष्ट भएको छैन ।
तर डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे बयान दिएको आफैले जानकारी दिएका छन् ।
उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन् ।
उनले भनेका छन्- ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।
ललिता निवास प्रकरणमा नाम मुछिएका पुर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान नलिएर नै सिआईबीले अनुसन्धानको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको भन्दै आलोचना भइरहेको थियो । जानकारी अनुसार सिआईबीले आजै ललिता निवास प्रकरणको रिपोर्ट बुझाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्