प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, खुल्ला संसद्को गतिरोध?

काठमाडौं, भदौ ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।

आज मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ। त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन्।

प्रधानमन्त्री दाहालले हिजो आज आइतबारदेखि संसद् चल्ने दाबी गरेका थिए। आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। बैठकअघि सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन्।

यसअघि सत्ता गठबन्धनले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग संवाद गरेर सदन खुलाउन पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो। प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निवासमा बोलाएर छलफल गरेका थिए ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सञ्चालन हुन नदिने अडान लिँदै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो।

सय किलो अनुमान गरिएको सुनको परिमाण ६० किलो यकिन भएको छ। सोही प्रकरणपछि एमालेले १० साउन यता निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्