गैर आवासीय नेपाली संघको सम्मेलनको उद्घाटन राष्ट्रपति पौडेलले गर्ने

काठमाडौँ, १ भदौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।

एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा.बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको उद्घाटनका लागि निमन्त्रणा दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले निमन्त्रणा स्वीकार गरेसँगै संघको सम्मलनको उद्घाटनसत्रको प्रमुख अतिथि पक्का भएका हन् ।

संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ ।

भेटका अवसरमा संघका अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।

सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा धन्यवाद व्यक्त गरे ।

उनले हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे । यसैबीच सङ्घको विश्व सम्मेलन नजिकिएसँगै एनआरएनएको काठमाडौँमा चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्