निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २९ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट उठाइएका मागको सम्बन्धमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले उक्त छलफलमा सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि कर लगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्ने र निर्माण व्यवसायीहरूले उठाएका सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन लगायतका अन्य मागहरूको सम्बन्धमा सम्बोधन गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएको बताए।

उक्त निर्देशन बमोजिम सरोकारवालाहरूसँग आवश्यक छलफल, परामर्श र समन्वय गरी १५ (पन्ध्र) दिनभित्र प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन भएको उनले जानकारी दिए।

उक्त छलफलमा विषयगत मन्त्रालयका मन्त्री, सचिव तथा सरोकार निकायको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्