सुन तस्करीको खोजी गर्न हङकङमा पनि पत्राचार गरेका छौं : महत

काठमाडौं, साउन २८ ।   अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सय केजी सुन प्रकरणमा नयाँ क्लूहरू आइरहेको बताएका छन्।

उनले सुन प्रकरणमा पक्राउ गर्ने क्रम सुरु भएको बताउँदै हङकङमा पनि पत्राचार भएको बताए। आइतबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।

‘पक्रिनु त राम्रो हो नि, यसमा को को संलग्न छ, हामीले हङकङलाई पनि चिठि पठाएका छौं। को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ महतले भने, ‘यसले नयाँ नयाँ क्लुहरू दिइरहेको छ निष्कर्ष आउन दिनुपर्यो।’

साथै, उनले पार्टीभित्रका नेताहरू अनुशासन र मर्यादाका कुराहरू उठेको पनि बताए।

‘अनुशासन, मर्यादाका कुराहरु उठेका छन्। के गर्नुहुन्थ्यो हुँदैन थियो भन्ने हामी संस्थाको अभ्यास गरेका आएका भएकाले त्यहीअनुसार हुनुपर्छ। पार्टीका सदस्यहरू पनि नम्समा बसेर कुरा गर्नुपर्छ,’ उनले भने।

महतले सुन प्रकरणमा आफ्नो संलग्नता देखिएको प्रमाण ल्याए पदमा नबस्ने बताएका छन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले भने ‘यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र ? प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ । अहिले नै पद छाड्छु ।’

आफूमाथि व्यर्थको लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्