पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर
काठमाडौं, २८ साउन । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ ।
प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।
कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।
देशको अर्थतन्त्र संकटमा परेको, पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका घटनाकाबीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन गराउनुपर्ने जिम्मेवारी छ ।
अनवर सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए । त्यसो त अनवर पाकिस्तानका चर्चित नेताहरुमध्येमा भने होइनन् ।
अनवरको सम्बन्ध पाकिस्तानी सेनासँग निकै राम्रो छ । त्यसैले उनलाई निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको चर्चा छ ।
यसैबीच इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफले विपक्षी दलको नेताको सल्लाहमा कार्यवाहक प्रधानमन्त्रीमा अनवरलाई चयन गरिएको टिप्पणी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्