कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसद सुनिल शर्मा पक्राउबारे छलफल हुने

काठमाडौं, साउन २८ ।  सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ ।

पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको बताइएको छ । यसअघि शनिबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।

बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कांग्रेसको संसदीय दलको बैठक शुक्रबार पनि बसेको थियो । उक्त बैठका सांसद आरजु राणाले सरकार पाकिस्तानी मोडलमा गएको आरोप लगाएकी थिइन् । कांग्रेस सम्मिलित सरकारबाट नै कांग्रेसका सांसदहरू पक्राउ पर्न थालेपछि कांग्रेसमा सरकारप्रति फरक धारणा बन्न थालेको छ ।

कांग्रेस गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फिर्ता गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसले गृहमन्त्रीबाट श्रेष्ठलाई अर्को मन्त्रालयमा सार्नुपर्ने पक्षमा लागेका बेलामा माओवादीका नेताहरू वर्षमान पुन र जनार्दन शर्मा पनि श्रेष्ठलाई हटाउन सक्रिय रहेको स्रोतले जनाएको छ ।

श्रेष्ठलाई गृहबाट हटाएर पुन गृहमन्त्री हुन चाहन्छन् । यही मेसोमा मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेका बेलामा कांग्रेस संसदीय दलको बैठक बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जनमत पार्टी सरकारमा जाने तयारीमा रहेको छ । जनमतका लागि मन्त्री पद भने माओवादी केन्द्रले सिर्जना गर्नेछ । तर, जनमतका लागि मन्त्रालय भने कांग्रेससँग माओवादीले साटफेर गर्न सक्ने सम्भावना रहेको छ । जनमतले विकासे मन्त्रालय माग गरेको छ । उक्त मन्त्रालयजति कांग्रेससँग रहेका छन् । यता, पर्यटन मन्त्री सुदन किरातीको पनि विकल्प खोज्ने चर्चा माओवादीभित्र छ ।

हितबहादुर तामाङका लागि किरातीलाई फिर्ता बोलाउने चर्चा चलेको छ । तर, किरातीलाई फिर्ता बोलाइहाल्ने सम्भावना भने कम रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसँग निकट सम्बन्धमा रहेका किरातीको यसअघि प्रधानमन्त्री प्रचण्डसँग बिग्रेको सम्बन्ध गंगामार्फत नै मिलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्