चन्द्र भण्डारीको प्रश्न– सफाइ पाइसकेका सुनील शर्मालाई फेरि थुन्नु पर्ने किन ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अदालतले सफाइ दिइसकेको मुद्दामा सुनिल शर्मालाई फेरि थुनिएको भन्दै आपत्ति जनाएका छन् । उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपसमेत लगाए ।
नेपाली कांग्रेस संसदीय दलको बैठकपछि शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले भने, ‘जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु,’ सांसद भण्डारीले भने, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।’
उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे । भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि लागेर प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए ।
‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन,’ उनले भने, ‘सुनील शर्माले बोलेको कसैलाई नपचेको होला नि । कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने । सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’
प्रतिक्रिया दिनुहोस्