राष्ट्रपति आरिफ अल्वी द्वारा पाकिस्तानको संसद भंग

काठमाडौं, २५ श्रावण । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

पाकिस्तानको संसदको कार्यकाल यहि अगस्ट १२ मा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको छ । संसद भंग हुनासाथ मन्त्रिपरिषद् पनि भंग भएको छ । यद्यपि अर्को कारवाहक प्रधानमन्त्री चयन नहुन्जेलसम्म हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।

तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने कुरा बीबीसीले जनाएकोछ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको छ । नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोशिस गर्न छलफल गर्न लागेको बताएका छन् ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा परेकोछ ।

भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजायँ तोकिएको छ । पाकिस्तानको निर्वाचन आयोगले खानले पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ । यसैबीच अदालतबाट नयाँ निर्णय नभएमा भने खानको भविष्य भने अन्योलमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्